१६ देखि ३५ वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवा मान्ने प्रस्ताव

काठमाण्डौं, फाल्गुन २८, युवा नीति परिमार्जन तथा “युथ भिजन २०२५” निर्माणको अन्तिम चरणमा पुगेको छ । सरकारद्धारा चार महिना अघि गठित “राष्ट्रिय युवा नीति परिमार्जन तथा युथ भिजन २०२५ निर्माण कार्यदल” ले प्रक्रिया अन्तिम चरण रहेको जनाएको कुरा कान्तिपुर राष्ट्रिय दैनिकमा छापिएको छ ।

राष्ट्र निर्माण एवं विकासमा युवाको भूमिका र सम्भाव्यता विकास तथा विस्तार गर्ने मुल उद्देश्य सहित युवा नीति परिमार्जन र युथ भिजन बनाउन लागिएको हो । कार्यदलले चैतको पहिलो साता तिर सरकारलाई परिमार्जित प्रतिवेदन र युथ भिजन बुझाउने तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले पाँच–पाँच वर्षमा युवा नीति परिमार्जन गर्ने व्यवस्था अनुसार अहिले पुनरावोलकनसंगै युथ भिजन २०२५को निर्माण भईरहेको जनाए ।

राष्ट्रिय युवा नीति २०६६ ले १६ देखि ४० वर्ष उमेर समुहका महिला, पुरुष तथा तेस्रो लिङ्गी व्यक्तिलाई युवा मानेको छ । अहिलेको कार्यदलले भने १६ देखि ३५ वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवा मान्ने प्रस्ताव गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार १५ देखि २४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवा भनिन्छ ।

आम युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व मार्फत शान्तिपूर्ण, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण हुने कुरा भिजनको खाकामा उल्लेख छ । शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा लगायत युवा विकासका क्षेत्रमा व्यापक लगानी गरी आम युवा सहभागिता, सहकार्य र नेतृत्व विकासमार्फत आगामी दस भित्र राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई कम विकसित राष्ट्रबाट दु्रत विकासशिल राष्ट्रमा पुर्याउन सक्षम जनशक्ति तयार गर्ने लक्ष्य लिएको छ ।