शुशील कोईराला अनि युवा भावना

दोस्रो संविधान सभाको निर्वाचन मार्फत सबैभन्दा ठुलो दल बन्न सफल नेपाली कंाग्रेशका पार्टी सभापति तथा संसदीय दलका नेता शुशील कोइरालालाई माघ २७ गते बसेको संविधान सभाको बैठकले दुई तिहाई बहुमतद्धारा नेपालको ३७ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको छ । करिब ११ महिना पछि फेरी राजनीतिक दलको नेतृत्वमा सरकार बनेको छ । नेकपा एमालेको संसदीय दलका नेता के.पी शर्मा ओलीको समर्थनमा बैठकमा उपस्थित ७३ प्रतिशत सदस्यहरुले कोइरालालाई निर्वाचित गरेका हुन ।

पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसके पछि दोस्रो संविधान सभाको निर्वाचन गरीएको हो । तसर्थ यस सरकारको प्राथामिक कार्य संविधान निर्माण गर्नु नै हो तर साथ–साथै व्यवस्थापीका संसदको कार्यलाई पनि अगाडि बढाउनुु पर्ने हुन्छ । मुलुकको विकास निमार्णको कार्यलाई पनि तिव्रता दिनु पर्दछ ।

शुशील कोइरालाको व्यक्तित्व र विगतलाई मुल्याङ्कन गर्दा मन पराउने र मन नपराउने व्यक्तिहरु दुवै होलान, तर उहाँ सामु मन नपराउने व्यक्तिहरुलाई मन पराउने बनाउने अवसर प्राप्त भएको छ । चुनौती छ त्यसैले त उहाँलाई अवसर पनि छ । उमेरले ७० वर्ष नाघी सकेका कोइरालाको एक चुनौती भनेको युवा भावनालाई समेट्नु हो । अव बन्ने नयाँ संविधानलाई युवा मैत्री संविधान बनाउनु पनि हो । मुखमा राम राम बगलीमा छुरा भने जस्तै बाहिर युवालाई अगाडि बढाउनु पर्छ भन्ने अनि भित्र–भित्रै युवालाई सिध्याउन खोज्नेहरुको संख्या नेपाली कांग्रेश र नेकपा एमालेमा ठूलो छ । त्यो जकडीएको मानसिकताहरुलाई तोडेर युवालाई अगाडी बढाउन कोइरालाले ठूलो छाती बनाएर शाहसका साथ अगाडी बढ्नु पर्ने हुन्छ । नेपालको पछिल्लो जनचाहना र वातावरणलाई हेर्ने हो भने यदि उहाँले यो शाहस गर्नु भयो भने उहाँलाई विरोध गर्नेहरुको तुलनामा समर्थन गर्नेहरुको संख्या कयौं गुणाले धेरै हुनेछ । उहाँले यो शाहस गर्नु भयो भने यसको विरोध गर्ने दुस्शाहस गर्नेहरुलाई जनताले अवश्य दण्डित गर्नेछन् ।

नयाँ सोचका साथ मुलुकलाई अगाडी बढाउने युवा शक्तिहरु नेपाली कांग्रेश र नेकपा एमालेमा प्रशस्त मात्र छन् कमि छ त केवल भूमिकाको । १ वर्ष भित्र संविधान लेख्नको लागि युवाहरुलाई भूमिका प्रदान गरेमा सायद संविधान लेखन कार्य पनि पुरा हुनसक्छ । यदी १ वर्ष भित्र संविधान लेखन कार्य पुरा गरेमा कोइराला सामु ऐतिहासिक व्यक्तित्व बन्ने अबसर पनि छ । राष्ट्र निर्माण र संविधान निर्माण एक समुहगत कार्य हो । समूहका सदस्यहरु जति राम्रा भए परिणाम पनि त्यति नै राम्रो हुन्छ । नव निर्वाचित प्रधानमन्त्री कोइराला संग विगतमा गरिएका असफल अभ्यासका तिता सत्यहरु छन् जसको आधारमा उहाँले नयाँ समिकरण निर्माण गरी नयाँ अभ्यास गर्न सक्छन् । त्यो नयाँ अभ्यासमा युवाहरुले भरीभराउ मन्त्रि मण्डल एक हुन सक्छ । भष्ट्रचारी र विवादमा मुछिएका व्यक्तिहरुलाई सरकारमा समावेश नगर्ने भनेर व्यक्तव्य दिइसक्नु भएका कोइरालाले कस्ता खालका व्यक्तिहरुलाइ सकारमा सामेल गर्ने हुन् हेर्न भने बाँकि नै छ । के पाको उमेरका कोइरालाले युवाहरुको जोसिलो र दरिलो साथका साथ मुलुकलाई अगाडि बढाउलान् त ? कोइराला पनि कुनै बेला युवा हुनुहुन्थ्यो । उहाँ त्यति बेला हलिउडको हिरो बन्ने सपना देख्नु हुन्थ्यो । आज उहाँ बृद्ध हुनुहुन्छ उहाँको कल्पनामा आज हलिउडको हिरो आउदैन किन कि मानिसको उमेर संग सगै कल्पना पनि बदलिदै जान्छ । कोइरालामा अहिले हलिउडको हिरो बन्ने जोश्, जागर र क्षमता छैन । तर जोश, जाँगर र क्षमता भएका युवाहरुलाई साथ दिई उचित भूमिका प्रदान गरी नेपालको हिरो बन्ने अबसर भने प्राप्त गर्नु भएको छ ।

खोलामा बेगेको पानी र समय एउटै हो एक पल्ट गएपछि फर्कदैन । एक पल्ट बगेको ठाउँमा पानी फेरी बग्दैन अनी एक पल्ट जिइ सकेको उमेर फेरी जिउन सकिदैन । तर त्यो बगेको पानीलाई उ बगेको ठाउँको धरातल थाहा हुन्छ, बग्दा खरी भएको सहजता, पिडा आदि थाहा हुन्छ, त्यस्तै गरी मानिसले जिई सकेको उमेर फेरी जिउन नसके पनि त्यसबाट उसले थुपै अनुभवहरु बटुलेको हुन्छ । नव निर्वाचित प्रधानमन्त्री कोईरालासंग पक्कै पनि जिवनका थुप्रै तिता मिठा अनुभवहरु होलान् । कोइराला नेपालको प्रधानमन्त्री मात्र नभएर सम्पूर्ण नेपालीहरुको अभिभावक पनि हुनुहुन्छ । अभिभावकको काम छोरा छोरीहरुलाई अवसर प्रदान गर्नु हो, आफुले नपाएको अवसर आफ्ना सन्ततीलाई प्रदान गर्नु हो । त्यसैले त समाजमा एक पुस्ता भन्दा अर्को पुस्ता विकसीत हुदै गएको छ । सम्पूर्ण नेपालीहरुको अभिभावक कोईरालाले अब अभिभावकत्वको जिम्मेवारी वहन गर्नु पर्दछ । उहाँले आफुले नपाउनु भएको अवसर नयाँ पिढिलाई दिनु पर्दछ । युवा अवस्थामा उहाँले देखेका सपना पुरा गर्ने मौका नयाँ पिढिलाई दिनु पर्दछ तव मात्र देशको बिकास सम्भव छ । यस प्रकारको उत्तरदायित्पपूर्ण राजनीतिक संस्कारको बिकास गर्नु आजको आवश्यकता हो ।