यो देशको बिडम्बना जहाँका नागरिक नागरिकता त्याग्दा खुशी हुन्छन्

अमेरिकी राजदुताबासले मे १ तारिखका दिन सन् २०१५ का लागि डाईभर्सिटी भिसा २०१४ को नतिजा प्रकाशित गरेको छ । यो प्रक्रिया केहि वर्ष यता प्रत्येक वर्ष सञ्चालन हुदै आईरहेको छ । त्यस मध्ये छानिएका निवेदकहरुले अमेरिकाको स्थायी बसोबास कार्डको लागि प्रक्रिया शुरु गर्छन । जो–जो व्यक्तिहरु डिभी प्रक्रियाका लागि छनौट भएका छन ति व्यक्तिहरु खुशी हुन्छन्, अनि आफ्ना आफन्तजनहरुलाई बोलाएर भोज गर्छन र जो व्यक्तिहरु छनौट हुन असफल हुन्छन उनीहरु निराश भएर अर्को वर्षको डिभी प्रक्रियामा फारम भर्न प्रतिक्षारत हुन्छन् । डिभी प्रक्रियामा छनौट हुन सफल व्यक्तिहरुले नेपाली नागरिकता त्याग्छन अनि अमेरिकाको स्थायी बसोबास प्रक्रियाको लागि प्रक्रिया शुरु गर्छन ।

यदि कुनै व्यक्ति खुशी हुन्छ भने पक्कै पनि त्यो कुरा उसको भविष्यसंग गासिएको हुन्छ । उसको भविष्य राम्रो हुने कुरामा उ खुशी हुनु स्वभाविक पनि हो । अमेरिका जस्तो विश्वको सबैभन्दा विकसीत र शक्तिशाली देशमा गएर आफ्नो जिवनयापन गर्न पाउने भएपछि नेपाली नागरिकहरु खुशी हुनुमा कुनै आश्चर्य छैन । विकासका हिसावले नेपाल अमेरिका भन्दा ३–४ सय वर्ष पछाडि छ । यो जन्ममा नेपालीहरुले त्यहाँको जस्तो भौतिक सुविधायुक्त जिवनशैलीको कल्पना गर्नु धेरै टाढाको कुरा हो । स्वप्नको देश अमेरिका जाने कुरामा त नेपालका सर्वसाधारण जनता मात्र नभएर नेपाल सरकारका सरकारी कर्मचारीहरु पनि पछि नहट्ने कुरा त भर्खरै मात्र प्रकाशित भएको ग्रिनकार्ड होल्डर सरकारी कर्मचारीको तथ्याङ्कले पनि पुष्टि गर्दछ ।

कुनै पनि देशमा कानुनी रुपमा बसोबास गर्नु पाउनु कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता हो । उ जहाँ खुशी हुन्छ त्यहाँ बस्न पाउनु उसको व्यक्तिगत अधिकार हो । यसरी नेपाली नागरिकहरु विदेश जान पाउदा खुशी महशुस गर्नुका पछाडि हामीले बुझ्नु पर्ने थुप्रै कुराहरु छन् । नेपाल अहिले सङक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । न त नेपालमा जिउ धनको सुरक्षा छ न त गरी खाने वातावरण नै छ । यस्तो वातावरणमा कुनै पनि स्वतन्त्र प्राणी कसरी रमाउन सक्छ ।

नेपालका राजनीतिक दलका नेताहरुले बुझ्नु पर्ने कुरा के हो भने किन यो देशका नागरिक नेपाली नागरिकता त्यागी विदेशी नागरिकता प्राप्त गर्दा खुशी हुन्छन् । केहि हजार नागरिकलाई डिभी चिठ्ठा पर्छ, लाखौ नागरिकले यसको फारम भर्छन भने अन्य लाखौ नागरिक विभिन्न कारणले भर्ने इच्छा हुदा हुदै पनि भर्न पाउदैनन् । यसले के प्रष्ट्याउछ भने नेपालका लाखौ नागरिकहरु अमेरिकामा स्थायी रुपमा बसोबास गर्न नेपाल छोड्न तत्पर छन् । भलै त्यहाँ गएर दोस्रो दर्जाको नागरिकको जिवनयापन गर्न किन नपरोस् । अनि यस्तो अवस्थाका रहेको नेपालको विकास कसरी सम्भव होला ? के ति नागरिकलाई नेपालमै बस्ने वातवरणको सिर्जना गर्न सकिदैन ? अमेरिकामा डिभी परेर गएका प्राय व्यक्तिहरुले दोस्रो दर्जाको नागरिकको जिवन व्यतित गर्ने गर्छन । त्यहाँका नागरिकले गर्न नभ्याएका कामहरु गर्ने हो तरपनि नेपालमा पोहिलो दर्जाको नागरिक भएर जिवनयापन गर्नु भन्दा त्यहाँको दोस्रो दर्जाको नागरिक भएर जिवनयापन गर्न हामी नेपालीहरु तम् तयार छौ । आज भन्दा २ सय वर्ष अगाडी अमेरिका पनि त्यस्तो विकसीत राष्ट्र थिएन तर आज अमेरिका संसार कै विकसित राष्ट्र हो । मान्छेले चाह्यो भने असम्भव केहि पनि छैन । उनीहरु पनि मान्छे नै हुन् हामी पनि मान्छे नै हौं । उनीहरुले प्रयास गरे उनीहरु सफल भए भने हामीले प्रयास किन नगर्ने ?

विभिन्न देशहरुको राजदुतावासमा नेपालीहरु भिसा माग्न लाईन बसेको देखिन्छ । के नेपालको राजदुतावासमा विदेशीहरु भिसा माग्न लाइन लगाउन सक्ने राष्ट्र निर्माण गर्न सकिदैन । सधै द्धन्द्ध, सधै हिंसा, सधै अशान्ति, सधै असुरक्षा यस्तो कति दिन सम्म चल्छ ? के यसलाई परिवर्तन गर्न विदेशीको सहायता माग्नु पर्छ ? नेपालमा क्रान्तीको नाममा भएका द्धन्दहरुमा एक नेपालीले अर्को नेपालीलाई मा¥यौं । कुनै विदेशीले हामीलाई मारेका होईनन् । विदेशीसंग युद्ध लडेर हामीले हाम्रो देशको सार्वभौमसत्ता जोगाएको इतिहास साँची छ । कमजोरी हामी–हामी विचमा छ र यसलाई सुधार्नु पनि हामीले नै पर्छ ।

आज नेपाली नागरिकहरु नेपाली नागरिकता त्यागि विदेशी नागरिकता प्राप्त गर्दा खुशी हुनुको कारण उनीहरुसंग नेपाली र नेपाल प्रति माया नभएर होईन । त्यो खुशीमा पनि कतै न कतै पिडा लुकेको छ । उनीहरुको मनमा नेपाल प्रति अथाह माया लुकेको छ । जसको उदाहरण हामी विभिन्न अन्तर्राष्ट्रिय खेककुद प्रतियोगीतामा उनीहरुले नेपाली खेलाडीलाई गरेको समर्थनबाट पनि बुझ्न सक्छौं ।

हाम्रा प्रिय नेता ज्यूहरुले हामी नेपालीहरुलाई एक–आपसमा लडाएका नै हुन् । जे का लागि लडाए त्यसको उपलब्धिलाई पनि आत्मसाथ गर्न सकेनन् । ७ वर्ष भईसक्यो संविधान लेख्न सकेका छैनन् । आफ्नो देशको संविधान आफैले लेख्न नसक्नुको पछाडिको कारण पनि आफ्नै हो । के यो देशका नागरिकलाई यसै देशमा खुशीका साथ बस्न सक्ने वातारण निर्माण गर्न सकिदैन । नेपालका राजनीतिक दलहरुले एक आपसमा मिलेर देश बनाउने अठोटका साथ अगाडि बढ्ने हो भने सबै जनताले साथ दिने छन् । साथै डिभी तथा अन्य विभिन्न नाममा विदेशीएका नेपाली नागरिकहरु पनि फर्केर आउनेछन् किन कि “ जहाँ जाउ जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो” ।

लेखकः प्रदिप गिरी