मधेस विरुद्ध मधेसी

manish jha
लेखकः मनीष झा

लगभग ३ दशक पहिलेको कुरा हो । त्यति बेला धनुषा जिल्लाका प्रख्यात पञ्च नेता हेमबहादुर मल्लले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई पशुपतिनाथको दर्शन गराउन भनेर काठमाडौं ल्याउँथे ।

त्यति बेला निकै राम्रो अवस्थामा रहेको जनकपुर चुरोट कारखनाको ट्रक उनका मतदातालाई काठमाडौं ल्याउन प्रयोग गर्थे । पशुपतिनाथको दर्शनसँगै उनीहरू सबैलाई नयाँ धोती र सारी उपलब्ध गराउने गर्थे । यो सबैको कारणले होला केही वर्ग र समुदायबीचमा ती महापञ्च निकै प्रख्यात थिए । काठमाडौं टाढा थियो । पशुपतिनाथको मन्दिर कैलाश पर्वतमै पो छ किजस्तो थियो । कतिपयको लागि त त्यही पहिलो पटक सवारी साधन चढ्ने अवसर हुनेगथ्र्याे । त्यसले गर्दा त्यो सुर्ती र चुरोट बोक्ने ट्रक हो भन्नेमा पनि खासै चासो हँुदैनथियो । तीमध्ये कैयौंले त राजाको गाउँ आएको ठानेर दरबारमार्गनिर पुगेर बाहिरैबाट राजाको दर्शन गरेझै ँढोग टक्य्राउँथे । राजाको गाउँ र मधेसको सम्बन्ध निकै पातलो थियो र मध्यस्थकर्ता र बीचका व्यवस्थापकको चतुराइका कारण दुवै पक्षका धेरै जना यथार्थदेखि अनभिज्ञ भएर पनि ढुक्क थिए । त्यस बखत मधेस र राजधानीको नाता भिन्दै थियो । त्यहाँ धेरै कमजोरी, लाचारी, अज्ञान थियो तर अहिलेको अवस्थामा देखिएजस्तो परिचयलाई नै बिगार्ने राजनीतिक स्वार्थ भने प्रकट भएको थिएन ।
विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात् संकोच, अनभिज्ञता, नोकरशाही र स्वार्थी चतुराइलगायतका धेरै विषय यथार्थमा बदलिने क्रम सुरु भयो । महेन्द्रनारायण निधि, रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंह जस्ता नेताले मधेसको आवाज बुलन्द बनाउनुका साथै जेपी गुप्ता, विजय गच्छदार, हृदयेश त्रिपाठीजस्ताले सघाउने गर्दा त्यसको स्पस्ट प्रतिध्वनि राजधानीसम्म सुनिने विश्वास धेरै मधेसीमा पलायो । त्यस बखतसम्मको राजनीतिमा जातीयता, भूमिगतपना, संघीयताको अस्पस्ट नाराजस्ता धमिला धमिरा उब्जी नसकेको हुनाले मधेसको समाज र संस्कार दुवै खासै बिग्रिसकेको थिएन ।
आधारहीन आकांक्षा, अव्यवस्थित अपेक्षा, कमजोर राजनीतिक संस्कार र सबल मधेसीभन्दा पनि केबल मधेसी प्रतिनिधित्वको अभियानले मधेसी धरातल कमजोर बन्दै गयो र पञ्चायतदेखि प्रजातन्त्रसम्मको यात्रामा ‘वाक स्वतन्त्रता’बाहेक अरूमा खासै केही प्रगति र परिवर्तन देखिएन । प्रतिनिधित्वका संख्या र संस्कृतिमा खासै भिन्नता देखिएन । केवल केही अनुहार फेरिए । उदाहरणका लागि जनकपुरको अस्तित्व जोडिएको जानकी मन्दिर, जनकपुर चुरोट कारखाना र जनकपुर रेल्वे सम्पूर्ण मधेस र राष्ट्रकै गौरव भए पनि मधेसी र मधेसका राजनीतिकर्मीहरूले आफ्नो राजनीतिक दलसँग सम्बन्धित व्यक्तिको दरबन्दी र कर्मचारी संघको स्थापनाबाहेक केही पनि गरेनन् । सबैलाई अस्तित्वहीन बनाउने क्रममा आआफ्नो स्वार्थअनुरूप लागिरहे । त्यो अभियानमा जनकपुर चुरोट कारखाना, जनकपुर रेल्वेलगायत केही संरचना ध्वस्त भए र केही अन्य धराशायी भए । त्यो सबै नोक्सानीको जिम्मेवार मधेसबाहिरका भन्दा पनि मधेसभित्रकै राजनीतिज्ञ र नीति तथा कार्यक्रम निर्माता हुन पुगे ।
मधेसीमा जरो गाडेको एउटा समस्या के हो भने हामी आपूफमा भएको कमजोरीको कारक अरूलाई नै देख्छौँ र आफ्नो क्षमता बढाउनभन्दा पनि अरूको विरोधगर्न बढी प्रवृत्त हुन्छौँ । कुनै कारणले केही अवसरबाट वञ्चित हुनु परेमा मधेसी भएकै कारणले गर्दा यस्तो भएको हो भन्ने सोच्न थाल्छौँ । जुन प्रवृत्ति अहिलेसम्म पनि मधेसमा यथावतै छ । तर त्यसको समाधानका लागि विरोधभन्दा बढी क्षमता अभिवृद्धिको उपाय अपनाउनु आवश्यक छ भन्ने चाहिँ अहिलेसम्म कुनै पनि राजनीतिक दलको कार्यसूची बन्न सकेन । एक पटक नेपाली सेनामा समूहगत प्रवेशको सबाल उठाउँदैमा मधेसको पाखुरामा बल थपिएको पक्कै पनि हैन । हुन त यस्तो प्रवृत्ति २०६२­।६३को राजनीतिक परिवर्तनपस्चात मधेसबाहिर पनि धेरै नै सुन्न र देख्न पाइयो । आफ्नो कमजोरी केलाउनेभन्दा पनि विदेशी चलखेल, प्रभु र नियतको नाममा अरूकै दोष देखाउने प्रवृत्तिको प्रभुत्व बढेको पाइएको छ । त्यसले पहिलेदेखि रहेको नकारात्मक प्रवृत्तिलाई थप बलियो बनाउने काम गरेको छ । कुनै पनि घटनाक्रम विकासको एउटा संस्कृति हुन्छ । त्यस संस्कृतिलाई सन्तुलित रुपमा हेर्ने, अध्ययन गर्ने, बुझ्ने र व्यवस्थापन गर्ने जिम्मेवारी त्यहीँका अगुवाको हो । तर यहाँ त त्यस्ता अगुवाले त्यही असन्तुलनलाई मुद्दा बनाएर राजनीतिको बजारमा सपनाको ब्यापार गरेकोमात्र देखिएको छ । तिनले घटनाक्रमलाई भिन्नै प्रकारले परिभाषित गरेर फाइदा उठाउन खोजेको देखिन्छ । त्यसले धेरै सपना, भावना, भविष्य र जीवन धरासायी हुन पुगेको छ ।
समानताको पनि एउटा संस्कृति हुन्छ र अवसरमा पनि त्यही संस्कृति लागु हुन्छ । तर आफ्नो राजनीतिक मुद्दालाई बलियो बनाएर समाजलाई कमजोर बनाउन खोज्ने स्वार्थी अभिप्रायले प्रायः मधेस र मधेसीहरूसँग भावनात्मक खेल खेलिरहेको पाइन्छ । मधेसीको प्रतिनिधित्व गर्छौँ र हामी नै मधेसको परिचय हौँ भन्ने केही सीमित राजनीतिक गुटका प्रतिनिधिले यथार्थलाई निहित स्वार्थका दृष्टिबाट परिभाषित गरेको पाइन्छ । रातो पासपोर्ट विक्री गर्ने, कुर्सी हुत्याउने, माइक भाँच्ने, राष्ट्र सेवकलाई झापड हिर्काउने, कर्मचारीलाई शौचालयमा थुन्ने, व्यापारीको अपहरण गर्ने, भ्रस्टाचारको कसुरमा सजाय पाउने, दाइजोमा सभासदको पद दिने र शान्ति सभामा बम पड्काएर निर्दोष व्यक्तिको हत्या गर्नेहरू कहिल्यै पनि मधेसका प्रतिनिधि पात्र हुन सक्दैनन । तिनीहरु त गैरजिम्मेवार राजनीतिक स्वार्थका लागि उद्यत गुट विशेषका सदस्यमात्र हुन् ।
मधेस आन्दोलन मन्त्रिपरिषद्मा सदस्य संख्या बढाउनको लागि नभएर मधेसीको पहिचान र उन्मुक्तिका लागि भएको थियो । मधेस र मधेसीलाई स्थायित्व, पहिचान र मधेसको संस्कृतिको समान सम्मान आवश्यक छ । मधेस एउटा संस्कृतिको नाम हो जसले सम्मानको भाषा बोल्छ । मधेस एउटा यस्तो जमिन हो जहाँ राष्ट्रका लागि अन्न उब्जाउने काम हुन्छ । मधेस ‘असल छिमेकी’बाट हुनसक्ने चतु¥याइँबाट राष्ट्रलाई बचाउने पर्खाल पनि हो र अहिले राष्ट्रिय अर्थ तन्त्रलाई धानिरहेको विप्रेषण भित्त्राउने कर्मवीर सपुत जन्माउने भूमि हो । लु र शीतलहरजस्तो प्राकृतिक चुनौतीमा पनि विदेशी छिमेकीले ‘नेपाली भुच्चड’ र आफ्नै छिमेकीले ‘धोती’ भनेर होच्याउँदा पनि नेपालको झन्डा बोकेर सुस्तामा पर्खाल बनिरहेको जमात हो । विसं २०६२­६३ को राजनीतिक परिवर्तन पस्चात् मधेसको परिचय र अस्तित्वमा केही परिवर्तन आयो तर अवस्था झन् बिग्रिएको छ । पैसा र पदका लोभीहरूले मधेसलाई लुटे र लुट्ने जोखिम अझै छ । हाम्रा राजनीतिक नेताले सम्पूर्ण राष्ट्रको प्रतिनिधि भएको आत्मसात नगर्दासम्म तिनीहरू सीमित राजनीतिक गुटका प्रतिनिधि पात्र मात्र रहनेछन् । मधेसको अहिलेको यथार्थ यही हो । पराग मुखमा हालेर चिच्याएर हिन्दी बोल्दैमा कोही पनि मधेसी र मधेसको प्रतिनिधि पात्र हुन सक्तैन ।

 

यो लेख मिति २०७१ बैशाख २९ गतेको नागरिक दैनिक पत्रिकाबाट साभार गरिएको हो ।