गणतन्त्र त आयो तर संस्थागत हुन सकेन

आज सातौं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र आएको ६ वर्ष भईसकेको छ । २४० वर्षको शाही शासनको अन्त्य भई अाज कै दिन नेपालमा गणतन्त्र स्थापना भएको हो । २०६२-६३ सालको जनआन्दोलनको उपलब्धि स्वरुप प्राप्त गणतन्त्र नेपालीहरुको लागि एक युगिन उपलब्धि हो । आजको दिन देशभर नेपालमा गणतन्त्र आएको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्छ । कार्यक्रममा शहिदहरुको फोटोमा माल्यार्पण गर्दै नेता ज्यूहरुले भाषण गर्नु हुन्छ । भाषणमा सबै नेताहरुको मुल कुरो एउटै हुन्छ, “नेपालमा गणतन्त्र त आयो तर यसलाई संस्थागत गर्न सकिएको छैन” । नेताहरुले यस्तो भाषण गर्न थालेको पनि ६ वर्ष वितिसक्यो । गणतन्त्रलाई संस्थागत गर्न पहिलो संविधान सभा असफल रह्यो र दोस्रो संविधान सभाको निर्वाचन गरियो, दोस्रो संविधान सभाको निर्वाचन भएको पनि ६ महिना बितिसक्यो तर संविधान बन्ने लक्षण राम्रो देखिन्न ।

गणतन्त्र भनेको राजा फालिनु मात्र होईन, मुलुकको सार्वभौमसत्ता जनता निहित हुनु हो । मुलुकमा शान्ति स्थापना भई मुलुकमा संमृद्धि आउनु हो । नेपाली जनताले आजको मिति सम्म यसको अनुभूति गर्नु त परै जाओस् यसको लक्षणको गन्ध सम्म पाएका छैनन् । प्रत्येक वर्ष जेष्ठ १५ गते गणतन्त्र दिवस आउछ तर गणतन्त्रको वास्तविक सुन्दरतालाई अनुभूति गर्न सकिएन भने गणतन्त्रको अवमूल्यन मात्र नभएर ती शहिदहरु जसले गणतन्त्र र नेपालको परिवर्तनको लागि ज्यान गुमाए उनीहरु प्रति ठूलो अपमान हुनेछ ।

नेपालका राजनीतिक दलहरु आन्तरिक किचलो र खिचातानीमा अल्झीरहेका छन् । स्वतन्त्र र निष्पक्ष हुनेपर्ने संवैधानीक अंगहरुमा समेत भागवण्डाको खेलमा अल्झीरहेका छन् । विधिको शासनको कुरा आफै गर्छन अनि आफै उल्लङघन गर्छन । यस्तो विद्यमान राजनीति संस्कारले कसरी नेपालमा गणतन्त्र संस्थागत होला ? राज्ययन्त्र लगायतका सबै अंगहरुमा नातावाद, कृपावाद बिना निष्पक्ष रुपमा योग्यताका आधारमा कर्मचारीहरु नियुक्ती प्रक्रिया नेपाली जनताले चाहेका हुन् । कर्मचारीतन्त्र चुस्त र दुरुस्त हुनुपर्दछ तव मात्र गणतन्त्र संस्थागत हुन्छ । केवल कागजमा मात्र नेपालमा गणतन्त्र संस्थागत भयो भनेर लेखेर मात्र गणतन्त्र संस्थागत हुने होईन, गणतन्त्र संस्थागत गर्न ती लेखिएका कुराहरुलाई व्यवहारमा उर्तानु जरुरी छ ।

राजतन्त्रात्मक नेपाल र गणतन्त्रात्मक नेपाल बिचको फरकको अनुभुती नेपाली जनताले खासै गर्न पाएका छैनन् । हिजो राजा हुदा नेपाल जुन स्थीतिमा थियो आज राष्ट्रपति हुदा पनि नेपाल त्यहि स्थितीमा छ फरक यति मात्र हो की हिजोको राजा बन्ने वंशानुगत परम्परा हटेको छ भने अहिले नेता ज्यूहरु राजनीतिक भागवण्डाको आधारमा पालै–पालो पद सम्हाल्छन् । तर नेपाली जनताको जिवन शैलाीमा खासै फरक आएको छैन । आज पनि नेपाली युवाहरु रोजगारीका लागि विदेशीने क्रम जारी छ, आज पनि नेपाली जनताको जिउ, धनको सुरक्षाको प्रत्याभूती छैन । यस्तो खालको यथास्थीतिबादी प्रवृत्ति र प्रणलीका लागी नेपाली जनता सडकमा ओर्लिएका पक्कै पनि होईन ।

नेपालमा गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रा राजनीतिक नेता ज्यूहरुको हो किन की अधिकार र पदका सम्पूर्ण क्षेत्रहरुको डाडु पुन्यौ उहाँहरु कै हातमा छ । आ–आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय हितको लागि कार्य गर्ने जिम्मेवारी उहाँहरुको हो । जनताले निर्वाचन मार्फत संविधान निर्माण गरी गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी उहाँहरुलाई दिईसकेका छन् । प्रायः बिरलै मात्र आउने संविधान निर्माणको कार्य उहाँहरुको लागि गौरवको कुरा हो । यो कुरा नेता ज्यूहरुले महशुस गर्नु आवश्यक छ ।

गणतन्त्रलाई हर्ष उल्लाहसका साथ मनाउने वातावरण निर्माण गरिनु पर्दछ नकि आफ्नो कमजोरीको समिक्षा गर्ने दिनको रुपमा । नेपालमा अहिले प्रत्येक वर्ष गणतन्त्र दिवसको दिनमा हाम्रा नेता ज्यूहरुले आफ्नो कमजोरीको समिक्षा गर्ने गरेका छन् । तर दुखको कुरा खाली समिक्षा मात्र हुन्छ कमजोरी सुधार्ने गरेको पाइदैन नत्र आजका दिन सम्म देशले काँचुली फेरी सकेको हुने थियो । आशा गरौ अबका दिनमा समिक्षाका साथ–साथै सुधारका प्रयासहरु पनि हुनेछन् अनि नेपालमा गणतन्त्र संस्थागत हुनेछ ।