जनताले जसलाई पत्याए नेताले उसैलाई लत्याए

२०७० मंसिर ४ गते सम्पन्न संविधान सभाको निर्वाचनमा २४० क्षेत्रमा भएको प्रत्यक्ष तर्फको निर्वाचनमा ४ जना उमेद्वारहरुले २ स्थानबाट विजय हाँसिल गर्नु भएको थियो । दुई स्थानबाट विजय हाँसिल गर्नेहरुमा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम हुनुहुन्छ भने नेपाली कांग्रेशको तर्फबाट सभापति शुशिल कोईराला र बरिष्ठ नेता शेर बहादुर देउवा हुनुहुन्छ । निर्वाचन नियमावली अनुसार दुई स्थानबाट बिजयी भई संविधान सभामा प्रतिनिधित्व गर्नेहरुले एक स्थान छोड्नु पर्ने हुन्छ र उक्त छोडिएको स्थानमा संविधान सभा सदस्य उपनिर्वाचन गराउनु पर्दछ । यसै प्रक्रिया अनुसार शुशिल कोईरालाले चितवन क्षेत्र नं ४, शेर बहादुर देउवाले कैलाली ६, माधव कुमार नेपालले काठमाडौं २ र बामदेव गौतमले बर्दीया क्षेत्र नं १ छाडेका छन् र २०७१ असार ८ गते चार आटै निर्वाचनमा संविधान सभा सदस्य उपनिर्वाचन हुदैछ ।

यो त भयो पृष्ठभूमी र प्रक्रियाको कुरा । असार ८ गते हुन लागेको उपनिर्वाचनको बारेमा सोच्दा मलाई नेपाली समाजका प्रचलित केही उखानहरुको याद आउँछ । जस्तैः नजिकको तिर्थ हेला, आफु ताग्छु मुढो बन्चरो ताग्छ घँुडो, आमा बाबुको माया छोरा–छोरी माथी छोरा–छोरीको माया ढुङ्गा माथि । नेपाली समाजका यी प्रचलित उखान र संविधान सभाको उपनिर्वाचनको सन्दर्भ मिल्दो छ । गाँउ खाने कथामा माथिको उखानको उत्तर के हो भनेर प्रश्न गर्दा उत्तरमा संविधान सभाको उपनिर्वाचन भन्दा उत्तर ठिक हुन्छ । जस्तैः जनताको माया नेता माथि नेताको माया कुर्सी र दलमाथि, अनि त्यसको नतिजा संविधान सभाको उपनिर्वाचन ।

नेपालका प्रमुख राजनीतिक दलहरु र ती दलका शिर्षस्थ नेताहरुले संविधान सभामा आफ्नो स्थान सुरक्षित गराउन दुई स्थानबाट उमेद्वारी दिने गरेका छन् । एक ठाँउबाट चुनाव हारियो भने पनि अर्को ठाउँबाट बिजय प्राप्त गर्ने आँशमा । यस प्रक्रियाबाट दोस्रो संविधान सभाको निर्वाचनमा पुष्प कमल दाहाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र बिजय कुमार गच्छादारलाई फाईदा पुगेको थियो । उहाँहरुले दुई स्थानबाट उमेद्वारी दिएकोमा एक स्थानबाट मात्र विजय प्राप्त गर्नु भएको थियो ।

दुबै स्थानबाट निर्वाचन जित्ने उमेद्वारहरुले एक स्थान छाड्नु पर्ने भएकाले छाडिएको स्थानहरुमा संविधान सभाको उपनिर्वाचन हुन लागेको हो ।दुबै स्थानबाट विजय प्राप्त गर्नेहरुको क्षमता र लोकप्रीयताको सम्मान गर्नु पर्छ तर मेरो आपत्ती छोड्ने प्रक्रियामा हो ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा शुशिल कोईराला र बामदेब गौतम पराजित भएका थिए । अझ माधव कुमार नेपाल त दुवै स्थानबाट पराजित हुनुभएको थियो । पहिलो संविधान सभाकोे निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट पराजित हुनु भएका नेपाल दोस्रो संविधान सभाको निर्वाचामा यसै निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी हुनु भयो । उहाँ काठमाडौं २ बाहेक रौतहट १ बाट पनि विजयी हुनु भएको थियो । रौतहट १ मा भने उहाँ जम्मा ३३८ मतको झिनो मतअन्तरले विजयी हुनुभएको थियो । तर उहाँले काठमाडौं २ लाई पराई सम्झीनु भयो ।

त्यस्तै पहिलो संविधान सभाको निर्वाचनमा नमिठो पराजय भोगेका कांग्रेश सभापति शुशिल कोईराला चितवन ४ बाट १००२१ को फराकिलो मतअन्तरले विजयी हुनु भएको थियो । उहाँ बाके ३ बाट पनि विजयी हुनु भयो । बाँके ३ बाट भने उहाँ केवल १९४४ मतअन्तरले विजयी हुनु भएको थियो, तर उहाँले पनि चितवन ४ लाई छाड्नु भयो ।

दोस्रो संविधान सभाको निर्वाचनमा बामदेव गौतम पनि दुई स्थानबाट विजयी हाँसिल गर्न सफल हुनु भयो । बर्दीया १ बाट ६७१९ मतअन्तरले विजयी हुनुभएका गौतम प्यूठान १ बाट भने ५२३८ मतअन्तरले विजयी हुनुभएको थियो । उहाँले पनि जुन ठाउँबाट भारी मतअन्तरले विजय प्राप्त गर्नु भयो त्यही ठाँउ (बर्दीया–१) लाई छाड्नु भयो ।

शेर बहादुर देउवा भने दुबै ठाउँबाट भारी मतान्तरले विजयी हुनु भएको थियो । डडेलधुराबाट करिब ११ हजार र कैलाली ६ बाट करिब ८ हजार मतअन्तरले विजयी हुनुु भएको थियो । दुबै ठाउँबाट भारी मतान्तरले विजयी हुनु भएका देउवाले डडेलधुरालाई रोजेर कैलाली ६ लाई छाड्नु भयो । यदी उहाँले पनि कुनै एक ठाउँबाट झिनो मतान्तरले विजय प्राप्त गरेको भए सायद भारी मतान्तरले विजय प्राप्त गरेको क्षेत्रलाई छोड्नु हुन्थ्यो होला ।

यसरी भारी मतान्तरले विजय प्राप्त गरेको क्षेत्र छोड्नुलाई विभिन्न दृष्टिकोणबाट ब्याख्या गर्न सकिन्छ । दलगत स्वार्थको कोणबाट हेर्दा भारी मतअन्तरले विजयी भएको क्षेत्रलाई छोड्दा, संगठन मजबुत भएकाले आफ्नै पार्टीको अर्को उमेद्वारले जित्ने सम्भावना बलियो हुन्छ र पार्टीले सिट संख्या पनि गुमाउनु पर्दैन । तर मतदाताको कोणबाट हेर्दा जनताले जसलाई विश्वास गरेर अत्याधिक मत दिए उसैले पराई ठानी लत्याउदा नमिठो लाग्छ र त्यो स्वभाविक पनि हो ।आमाबाबुको माया छोराछोरी माथी अनि छोराछोरीको माया ढुङ्गामुढा माथि भने झैं जनताको माया नेतामाथि अनि नेताको माया चाँहि कुर्सी र दलमाथि भन्दा फरक नपर्ला ।

दलीय स्वार्थको हिसावले हेर्दा उहाँहरुको निर्णय सही देखिन्छ तर नेताहरुको मतदाताप्रतिको दायित्व र नैतिकताको हिसाबले हेर्दा गलत देखिन्छ ।

यसको समाधान के त ?

लोकतन्त्रमा जनता मालिक हुन्छन् । जनताले जे चाह्यो लोकतन्त्रमा त्यही हुन्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अधिकार जनतामा निहित हुन्छ । नेताहरुले दुई स्थानबाट चुनाव लड्नुकोे तात्पर्य भनेको उहाँहरुको प्रतिनिधित्व आवश्यकीय भएको महशुस गरेर हो, तर उहाँहरुको प्रतिनिधित्व आवश्यक छ वा छैन भनेर निर्णय गर्ने अधिकार मात्र केबल जनतालाई हुन्छ । जनतालाई आवश्यक छ भन्ने लागेमा एकै क्षेत्रबाट भारी मतअन्तरले विजयी गराउन सक्छन् र यदी जनतालाई आवश्यक छैन भन्ने लागेमा दुई के तीन क्षेत्रबाट निर्वाचान लडे पनि हराईदिन्छन् । तपाईको आवश्यकता र महत्व देशको लागि छ भने दुई ठाउबाट निर्वाचन लडिराख्नु पर्दैन । नेताहरुलाई पनि यसरी आफुलाई माया गर्ने जनतालाई लत्याउनु पर्ने अवस्था आउदैन । आफुलाई माया गर्ने जनताकै प्रतिनिधि भएर काम गर्ने अवसर मिल्दछ । यसरी दुई स्थानबाट चुनाब लड्न पाउने व्यवस्था खारेज गरिने हो भने नेता ज्यूहरु पनि जनता प्रति बढि उत्तरदायी र जवाफदेही हुनेछन् । उपनिर्वाचनको बेलामा राज्य र व्यक्तिहरुको आर्थिक खर्च पनि जोगिने छ । बिना कारण देशलाई आर्थिक भार किन लगाउने । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा उपनिर्वाचनमा हुने आर्थिक खर्चले पनि ठूलो अर्थ राख्दछ । त्यसैले उपनिर्वाचनको व्यवस्था हटाउदा नेता, जनता र राष्ट्र सबैलाई फाईदा पुग्छ भने किन नहटाउने ?

लेखकः प्रदिप गिरी