प्रकोप र बिपत्ती

manish jha
लेखक–मनिष झा

संबिधान सभाको दोस्रो निर्वाचन भन्दा अगाडिको कुरा हो । भुकम्पले गर्दा नेपालको पुर्वी जिल्लामा केहि प्रकोपले सताएको थियो । सरकारले खासै प्रभावकारी रुपले राहत र सहयोग प्रदान गर्न सकिरहेको थिएन र त्यो कुराको गुनासो सबै पक्षबाट भैरहेको थियो । त्यही क्रममा एउटा औपचारिक कार्यक्रममा तत्कालिन सरकारको जिम्मेवार मन्त्रीले “यस्तो प्रकोप जती बिकसित राष्ट्रमा जाओस, हाम्रो राष्ट्रमा किन आएको होला ?” भनेर गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए ।

त्यो अभिव्यक्तिको लगभग सबै पक्षबाट निन्दा भयो र त्यो जिम्मेवार मन्त्रीले अनौपचारिक स्पष्टीकरण पनि दिनु परयो । हामी मध्ये कयौंले यसरी सोच्दछौ होला की हाम्रो राष्ट्रमा किन प्राकृतिक प्रकोपले सताउँछ ? हामीले यसलाई थेग्न सक्दैनौ, जसले थेग्न सक्छ उतै तिर जाओस् । तर, हामी यो बिर्सिराखेका छौ की प्रकोप सबै राष्ट्रमा जान्छ । हाम्रो राष्ट्रमा भन्दा धेरै प्राकृतिक प्रकोपले सताउने राष्ट्रहरु पनि छन् । प्राकृतिक प्रकोपले राष्ट्र चिन्दैन केवल प्रकृती चिन्दछ तसर्थ यसलाई प्राकृतिक प्रकोप भनिन्छ । हामीले प्राकृतिक प्रकोपको इतिहासलाई हेर्दा विश्वका केही बिध्वन्सकारी प्रकोपहरुलाई उदाहरणको रुपमा लिन सक्दछौ ।

जस्तै सन् २०१० मा हाइटीमा गएको भुकम्पले २ लाखको ज्यान लियो, २० लाख घर–परिवार बिहिन भए र ३० लाख प्रभावित भए । सन् २००८ मा आएको समुन्द्री आँधीले ८४ हजारको ज्यान लियो र ५३ हजार ८ सय बेपत्ता भए । सन् २००५ मा गएको भुकम्पले ७५ हजारको ज्यान लियो र लाखौं घाइते भए । सन् २००५ मा अमेरिकामा आएको “क्यात्राइना” नामक समुन्द्री आधी अहिले सम्मकै प्रमुख प्रकृतिक प्रकोपको रुपमा अमेरिकीहरुले सम्झने गर्छन र त्यो समुन्द्री आँधीले १ हजार ८ सय ३३ जनाको ज्यान लिनुको साथै ८१ खर्ब नेपाली रुपैया बराबरको क्षति भएको तथ्य पाइन्छ । सन् २००४ को भुकम्प जसमा ३ लाख १० हजार जनाको ज्यान गएको तथ्यले अहिले सम्म पनि इण्डोनेशिया, भारत, श्रीलंका र थाइल्याण्डलाई झस्काउछ । सन् १९७६ को जुलाईमा चीनमा गएको “ताङसंग” भुकम्पले एकै पटकमा २ लाख ४० हजारको ज्यान लियो भने १२ लाखलाई गम्भीर घाइते बनायो । सन् २०११ म जापानमा गएको त्यो भुकम्प तथा सुनामीले २ लाख ५० हजार घर भत्कायो । सन् ११३८ मा सिरियामा गएको “हलप” नामक भुकम्पले त्यो शहर नै सखाप पा¥यो र २ लाख ३० हजारको मृत्यु भयो । अहिले त्यो शहरलाई एउटा एतिहासिक धरोहरको सम्झनाको रुपमा मात्र राखिएको छ र कोही पनि बस्दैनन् । चीनमा सन् १९२० मा गएको भुकम्पले ३ लाखको ज्यान लियो र त्यहाँको जनतालाई बसाईसराईको लागि बाध्य बनायो ।

सन् २०११ मा न्युजील्याण्डमा गएको ७.३ स्केलको भुकम्पले १८५ जनाको ज्यान लियो भने १६ खर्बको क्षती गर्यो । सन् २००१ को गणतन्त्र दिवस मनाईरहेको बेला भारतको गुजरातमा ७.७ स्केलको भुकम्प गयो र २० हजारको मृत्यु भयो जसको कम्पन हामीले पनि नेपालमा महशुस गरेका थियौं । विश्व इतिहासमा भएका प्राकृतिक प्रकोप संग सम्बन्धित यी तथ्यहरुसंग मैले यो भन्न खोजेको हुँ की प्राकृतिले हामीलाई मात्र दुख दिएको छैन, प्रकृतिले सबैलाई सबक पनि दिईरहेको पाईन्छ तर फरक यति मात्र हो की सबक सिकेर हामी भविष्यका लागि सर्तक हुन्छौं कि हुदैनौं । प्राकृतिक प्रकोपले राष्ट्रलाई हानी पुर्याउदा आफ्नो जिम्मेवारी बुझेर त्यही अनुसार त्यो घटनालाई नियन्त्रण गर्ने र कम भन्दा कम हानी पुग्न दिने प्रयत्न गर्नु नै राष्ट्रको प्रमुख जिम्मेवारी हो र सम्बन्धित क्षेत्रका अभियान्ता र जिम्मेवार व्यक्तिहरुले पनि आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने मानवीय धर्म हो, अन्यथा त्यो प्रकोपले माहामारीको रुप लिन्छ र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीलाई पनि असर पुरयाउन थाल्छ ।

बिगत ४० वर्षमा नेपालमा घटेका प्राकृतिक घटनाक्रम हेर्ने हो भने विभिन्न घटनाको क्रममा लगभग ३२ हजार ८ सय २ जनाले ज्यान गुमाएको पाईन्छ । तर यसमा राजनीतिक द्धन्दको क्रममा मारिएकाहरुको संख्या गाभिएको छैन । यो ४० वर्ष अर्थात सन् १९७१ देखी २०१३ सम्म भएको सम्पूर्ण प्रकोपमा नेपालमा ४० अर्व ४८ करोड धनमाल क्षती भएको पाईन्छ । ७० लाख मान्छेहरु प्रभावित भए भने २ लाख ३७ हजार भवन ध्वस्त भए र २ लाख ११ हजार भवनहरु क्षती ग्रस्त भए । यो सबै तथ्यहरु अन्य राष्ट्रमा भएका प्राकृतिक घटनाहरुको तुलनामा त्यति डरलाग्दो देखिदैन तर, यस भित्रको विश्लेषणबाट आएको डरलाग्दो कुरा के छ भने मृत्यु भएका ३२ हजार ८ सय २ मध्ये १६ हजार १ सय ६० जना महामारीको कारणले ज्यान गुमाउनेहरुमा छन् र महामारी भन्नाले प्राकृतिक प्रकोप पश्चात वा प्राकृतिक प्रकोप संग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेर हुने मानवीय प्रकोप हो र प्राकृतिक प्रकोप भन्दा ठूलो बिपक्ति महामारीलाई मानिन्छ ।

यो ४० वर्षमा नेपालमा भुकम्पले ८८३ व्यक्तिले ज्यान गुमाए भने ८२२ जना शितलहरीकरणको कारणले मर्नु परयो । अब हेरौं भुकम्प र शितलहरी दुबै प्राकृतिक प्रकोप हो तर, शितलहरीबाट बाँच्नको लागि हामीले यदी सम्पूर्ण सम्यन्त्र र सचेतना लगाउने हो भने हामी बाँच्न सक्छौ तर हामीले त्यो गरिरहेका छैनौं भन्ने कुरा तथ्यले दर्शाइरहेको छ । सन् १३४८ देखी १३५१ सम्म युरोपमा ठूलो महामारीको आँधीबेरी आयो जुन मानवीय सभ्यताकै दास्रो भयाबह माहामारीको रुपमा लिने गरिन्छ र अहिले सम्मकै सबैभन्दा ठूलो ज्यानमारा घटनाको रुपमा मानिन्छ किनकी यो माहामारीले युरोपको ६० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको थियो भने १० करोड भन्दा धेरैको मृत्यु भएको थियो भन्ने मानिन्छ, तसर्थ यसलाई १९१८ को स्पानिश इन्फ्लुएन्जासंग पनि तुलना गरिन्छ । किनकी स्पानिश इन्फ्लुएन्जाले एसिया, युरोप, अफ्रिका र अमेरिका सम्म पनि भय सृजना गर्दै २ करोड भन्दा बढीको ज्यान लिएको मानिन्छ । अब हामीले यो सोचौ की अहिले सम्म हामीलाई प्रकृतिले साच्चीकै माया गरेकै हुन र हामी विश्वका धेरै घटना भन्दा सुरक्षीत छौं तर, विश्वका अन्य मुलुकहरुबाट हामीले सिक्न नसकेको कुरा के हो भने अन्य बिकसित राष्ट्रहरुले प्राकृतिक प्रकोपलाई प्राकृतिक रुपमै सिमित हुन दिन्छन् र सक्दो सम्भावित क्षतिलाई नियन्त्रण गर्ने प्रयास गर्छन् र प्रकोपलाई बिपत्तीको रुप धारण गर्न दिदैनन् । हामी भन्दा धेरै चिसो हुने राष्ट्रहरु छन् तर त्यहाँ शितलहरीमा मान्छे मरेको सुन्नमा आउँदैन । “क्यात्राइना” नामक समुन्द्री आँधी जस्तो प्रकोप आउँछ धनमालको क्षती हुन्छ तर मानवीय क्षतीलाई नियन्त्रण गर्न सम्पूर्ण राज्य सम्यन्त्र लगाईन्छ र त्यो प्रकोपलाई बिपक्ती वा महामारी हुन दिदैनन् ।

हामीले माथि उल्लेख गरे झैं प्रकृतिले प्रकृतिलाई मात्र चिन्दछ, राष्ट्र चिन्दैन तर हाम्रो व्यवस्थापनको क्षमता राम्रो भएमा हामीले त्यसलाई महामारीमा परिणत हुनबाट जोगाउन सक्छौं । हामीलाई जीवनको विभिन्न चरणले केही न केही शिक्षा दिईरहेको हुन्छ, त्यस्तै प्रकृतीले पनि हामीलाई केही सबक सिकाईरहेको हुन्छ तर, हामी त्यसलाई नजरअन्दाज गर्दै अघि बढ्न खोज्यौ भने त्यो भुलले हामी वा हामी मध्येको कसैलाई लिएर जान्छ । गुजरातमा सन् २००१ म गएको भुकम्पले केवल गुजरातलाई मात्र हैन एसिया र विश्वलाई एक कम्पन दियो र सबैले केही न केही सिके र अहिले गुजरातका बासिन्दा सम्भावित भुकम्पबाट कसरी कम भन्दा कम क्षति हुन दिने भनेर सचेत छन् । संयुक्त राष्ट्र संघको ब्युरो अफ क्राइडस प्रिभेन्सनको प्रतिवेदन अनुसार विश्वका १९८ राष्ट्रहरु मध्ये नेपाल भुकम्पीय जोखिम अनुसार ११ औं स्थानमा पर्दछ र साही प्रतिवेदन अनुसार शहरहरु मध्ये काठमाडौं पहिलो स्थानमा पर्दछ । यदी ८ रेक्टर स्केलको भुकम्प गयो भने १ लाखको मृत्यु र ३ लाख सम्म घाइते हुन सक्छन् । तर, के हामी त्यो सम्भावित प्रकोपको लागि तयार छौं त ?

हामीले १९९० को भुकम्प र क्षतीबाट के सिक्यौं र हाम्रो व्यवस्थापकीय क्षमतामा के परिवर्तन आयो ? भावनाको मापदण्ड भन्दा फरक घर बन्दैछ । जुन सम्भावित खतराको क्षेत्र छ त्यही नै बस्ती थपिदैछ । रिङरोड र टुडिखेल मात्रले आपत पर्दा हामीलाई थेग्न सक्दैन भन्ने थाहा हुँदा–हुँदै पनि हामी आँखा चिम्लेर बसेका छौं । काठमाडौंको भविष्य पशुपतिनाथले नै हेरुन् भनेर हामी ढुक्क छौं । यदी हामीले हाम्रो इतिहासले सिकाएका पाठहरुबाट केहि नसिक्ने हो र फेरी पनि नजरअन्दाज गर्दै जाने हो भने हामी सम्भावित प्रकोप र बिपत्तिबाट आफ्नालाई गुमाउने छौं र हुनसक्छ कुनै दिन हामीले आफुलाई नै गुमाउने छौं ।

यो लेख २०७१ साल भाद्र १० गतेको नागरिक राष्ट्रिय दैनिकबाट साभार गरिएको हो ।