पार्टीको लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरण

मध्य वर्षाको समय किन नहोस्, असार १९ गतेबाट काठमाडौंमा सुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनको चर्चा-परिचर्चाले सबैको ध्यानाकृष्ट गरेको छ । कतिपय मानिसहरू एमालेमा नीति सिद्धान्तको विवाद छैन, अब केवल नेतृत्व निर्माण गर्ने अर्थात को अध्यक्ष बन्ने कुरामा मात्र छलफल भएको छ भन्छन् । तर वास्तविकता त्यस्तो होइन । एमालेले आफ्नो पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने मुख्य सैद्धान्तिक प्रश्नमा छलफल गरिरहेको छ । जनताको बहुदलीय जनबाद (जबज) समाज, राज्य र स्वयम् पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने सिद्धान्त हो । शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिद्वारा जनवादी सत्ता सञ्चालन गर्ने क्रान्तिको मौलिक सिद्धान्तसँग पार्टीको जीवनको लोकतान्त्रीकरण गर्ने सवाल अभिभाज्य रूपमा जोडिएको छ । जबजले पार्टी निर्माण गरिरहँदा मानव समाजले आफ्नो सभ्यता सिर्जनाको क्रममा विकसित गरेको उच्चतम लोकतान्त्रिक मूल्य-मान्यता र सिद्धान्तका आधारमा पार्टी गठन र सञ्चालन गर्नुपर्छ ।

कम्युनिष्ट पार्टी आफैं लोकतान्त्रिक मूल्य-मान्यता र सिद्धान्तमाथि आधारित छैन र त्यसरी बनेको हैन भने त्यसले लोकतान्त्रिक नेतृत्व प्रदान गर्न सक्दैन भने समाज र राज्यको लोकतान्त्रीकरण गर्नसमेत असफल हुन्छ । कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरणको प्रश्नलाई नेकपा एमालेले सैद्धान्तिक रूपले पाँचौं महाधिवेशनबाट नै आत्मसात गरेको छ र त्यसलाई प्रयोग गर्दै आइरहेको छ । नवौं महाधिवेशनले पार्टीको लोकतान्त्रीकरणको मुख्य पक्ष नेतृत्व हस्तान्तरणलाई पद्धतिको रूपमा स्थापित गर्दै र त्यसको अभ्यास गर्नैपर्छ ।

व्यवहारमा लागू नभएको सिद्धान्त कहिल्यै पनि सिद्धान्त हुनसक्दैन । विज्ञानका शब्द, परिभाषा, सूत्र कण्ठाग्र पार्नु विज्ञान होइन, विज्ञान किताबमा हुँदैन, सूत्र संकेतमा पनि हुँदैन । विज्ञानले यो सिकाउँछ र त्यो सिकाउँछ भन्नु शब्दाडम्बर मात्र हुनेछ । त्यसैले विज्ञानले सिकाउँदैन, अभ्यासले सिकाउँछ । सिद्धान्तका ठेली पढेर र लेखेर मात्र सिद्धान्त हुँदैन । त्यो सिद्धान्त व्यवहारमा प्रयोग र अभ्यास भएपछि मात्र वास्तविक सिद्धान्त हुन्छ । त्यसकारण आज एमालेले पार्टीको आन्तरिक जीवनको लोकतान्त्रीकरणलाई सही अभ्यास गर्ने समय आएको छ । हामीले पार्टीका सदस्यबाट नेतृत्व छान्ने आवधिक निर्वाचन गर्ने कुरा अभ्यास गरिसकेका छौं र एउटा पद्धतिभित्र रहेर नेतृत्व हस्तान्तरण गर्ने अभ्यासमा एमालेको नवौं महाधिवेशन सम्मुखमा छ ।

कुनै पनि पार्टी सञ्चालनको सिद्धान्त जनवादी- केन्द्रीयता हो । जसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त पनि भनिन्छ । माक्र्स र एंगेल्सको बेलासम्म पार्टी सञ्चालनको कुनै व्यवस्थित सिद्धान्त थिएन । रूसमा बिभिन्न सोचाइका कम्युनिष्ट पार्टीहरू स्थापना भइरहेका थिए । लेनिनलाई ती सबै पार्टीको एकताबाट क्रान्ति सम्पन्न गर्नु थियो । यस्तो अवस्थामा लेनिनले सबै पार्टीहरूलाई एकीकृत मात्र गर्नुभएन, फरक-फरक विचारहरू भएको पार्टीलाई कसरी सबैभन्दा लोकतान्त्रिक बनाउन सकिन्छ भनेर ब्यापक छलफलपछि जनवादी-केन्द्रीयताको सिद्धान्त पास भयो । जनवाद भनेको पार्टी सदस्यहरूले छलफल गर्ने, विचार राख्ने, मत दिने, चुन्ने र चुनिने अधिकार थियो भने केन्द्रीयता निर्णयको पालना गर्ने सदस्यको कर्तव्यसँग सम्बन्धित थियो । जनवाद र केन्द्रीयताको सन्तुलनले पार्टीलाई प्रभावकारी र लोकतान्त्रीकरण ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने तर्क सबैभन्दा प्रभावकारी तर्क थियो । जब जनवादी-केन्द्रीयतालाई गलत ढंगले बुझ्ने-बुझाउने र प्रयोग गर्ने काम सुरु भयो, त्यसपछि कम्युनिष्ट पार्टीभित्र लोकतन्त्र कमजोर बन्दै गयो ।

अन्तरपार्टी संघर्ष जहिले पनि कुनै एक लक्ष्यको परिभाषा गर्न र लक्ष्यमा पुर्‍याउन सक्ने संघर्षको कुनै तरिका छान्न गरिने संघर्ष हो । जसले गर्दा पार्टी सत्यको नजिक पुगोस् । तर दुर्भाग्य, व्यवहारमा गलत प्रयोग गर्दै जाँदा सिद्धान्त नै निर्जीव चिजजस्तो भयो । यसलाई यान्त्रिक र गलत तरिकाले बुझियो र कोरा सिद्धान्तमा बदलियो । पार्टीभित्र लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न बनाएको सिद्धान्त पछि गएर फरक विचारलाई समाप्त पार्ने काममा प्रयोग भयो । पार्टीको अति केन्द्रीकरण, जबर्जस्त बहुमतको निर्णय र अल्पमतको सफाय, लगातार बहुमत प्राप्त गरेर नेतृत्वमा सधैं बसिरहने षड्यन्त्र, अन्धसमर्थकको खोजी, फरक विचारलाई तिरस्कार, अपमानजस्ता कामहरू भए । जनवादी- केन्द्रीयताको प्रयोग पार्टीमा शक्ति आर्जन गर्ने र सम्पूर्ण पार्टी कब्जा गर्न प्रयोग गरियो । लेनिनको अवसानपछि त स्टालिनले आफ्ना समकक्षीहरूलाई समाप्त पार्नमा नै यो सिद्धान्तको प्रयोग गरे । फरक विचार राख्नेलाई पार्टीबाट पन्छाउने मात्र होइन, जीवनसमेत समाप्त पार्ने काम भयो । अन्ततः पार्टी र राज्यसत्ता लोकतान्त्रिक हुनसकेन । नोकरशाहीतन्त्र र अधिनायक स्थापित भयो । अन्ततः जसले सोभियत समाजवादी मोडल नै असफल हुने अवस्थामा पुर्‍यायो । त्यही असफलताका कारणहरू अन्वेषण र निरुपण गर्दै जननेता मदन भण्डारीले पार्टीको लोकतान्त्रीकरणको सिद्धान्त अगाडि सार्नुभयो । जसका कारण संसारका धेरै कम्युनिष्ट पार्टीहरू टुक्रा-टुक्रा भए, पलाएन भए, तर नेकपा एमाले गतिशील र प्रभावशाली पार्टीको रूपमा स्थापित भयो । आज हामी पार्टीको लोकतान्त्रीकरणलाई अझै वैज्ञानिक पद्धतिद्वारा स्थापित गर्दै पार्टी र आन्दोलनलाई गतिशील बनाउन लागिपरेका छौं ।

बहस, विवाद र अन्तरविरोध जीवन्त राजनीतिक संगठनका चारित्रिक विशेषता हुन् । पूर्णरूपले द्वन्द्वमुक्त राजनीतिक संगठनको परिकल्पना गर्न सकिँदैन । आन्तरिक लोकतन्तले पार्टीलाई गतिशील ऊर्जावान र जीवन्त बनाउँछ र त्यसको अभावमा पार्टी कमजोर, समस्याग्रस्त र विखण्डित हुन्छ र यसले सिंगो लोकतन्त्रलाई समेत आघात पुर्‍याउँछ । पार्टीको आन्तरिक लोकतन्त्रको कुनै निश्चित मोडल या सूत्र छैन । भिन्न-भिन्न मुलुकमा लोकतन्त्रका आफ्नै ढांँचाहरू छन् र पार्टीहरूको विकासका पनि आफ्नै मौलिक परम्पराहरू छन् । यति हुँदाहँदै पनि पार्टीको लोकतान्त्रीकरणका केही सर्वस्वीकृत मान्यताहरू छन्, जस्तो कि, आवधिक निर्वाचनबाट सदस्यहरूले नेता छान्ने दुई कार्यकालको कार्यकारी भूमिकापछि नेतृत्व हस्तान्तरण गर्नैपर्ने, पार्टीका निर्णयहरू लिँदा पारदर्शिता र लोकतान्त्रिक विधि अवलम्बन गर्नुपर्ने र नेतृत्व सदस्यहरूप्रति जवाफदेही हुनुपर्ने । एमालेको आजसम्मको प्रगति र विकास पार्टीभित्रको लोकतन्त्रले सम्भव भएको हो । नत्रभने कित मोहनविक्रमजीको पार्टीजस्तो टाक्सिएर चोइटिएर बस्नुपथ्र्यो यात माओवादीको जस्तो सर्वनाश अर्थात विघटन । एमालेले विगतमा आफूले अभ्यास गर्दै आएका लोकतान्त्रिक परम्पराप्रति गौरव गर्दै अझै प्रभावकारी बनाउनुपर्छ । नवौं महाधिवेशन त्यसको लागि सबैभन्दा उपयुक्त थलो हो ।

आज संसारमा पुरानो कम्युनिष्ट मोडलको पार्टी संगठनहरू असफल भइसकेका छन् । नेकपा एमालेले लोकतन्त्रमा आधारित संगठन निर्माण र सञ्चालन गरेको छ । त्यसकारण एमाले क्युबा वा उत्तर कोरियाको जस्तो मोडलको पार्टी र नेतृत्व निर्माण गर्न सक्दैन । विधिसम्मत ढंगले नेतृत्व हस्तान्तरणको प्रक्रियामा हामी गइरहेका छौं । नेतृत्व हस्तान्तरणको प्रश्न एउटा व्यक्तिबाट अर्को व्यक्तिमा नेतृत्व सार्ने प्रश्नमात्र होइन । समाजको गति, संगठनको गति र आवश्यकतासँगै नेतृत्व पनि गतिशील हुने कुरासँग जोडिएको प्रश्न हो ।

कुनै पनि नेता योग्य छन् भनेर आजीवन कार्यकारी भूमिकामा रहन सक्दैनन् । आफ्ना जमानामा संसारमा तहल्का मच्चाएका फिडेल क्याष्ट्रो, राँबर्ट मुगाबेहरू सधैं नेतृत्वमा रहिरहँदाको त्यहाँ अवस्था सबैले कल्पना गर्न सकिन्छ । अमेरिकामा कुनै राष्ट्रपति जतिसुकै लोकपि्रय रहुन्, दुई कार्यकालभन्दा बढी हुनसक्दैनन् । जर्ज वासिङटन प्रथम राष्ट्रपति थिए, उनलाई सधैं राष्ट्रपति हुन भनियो, तर उनी मानेनन् । संसारमै सबैभन्दा लोकपि्रय नेता नेल्सन मन्डेला एक कार्यकालभन्दा बढी राष्ट्रपति हुन मानेनन् । त्यसकारण यो सवाल नेतृत्वमा रहने व्यक्तिको लोकतान्त्रिक निष्ठासँग जोडिएको सवाल पनि हो । चिनियाँ कम्युनिष्ट पार्टी जसले अहिले पनि खुला लोकतन्त्र स्वीकारेको छैन, तर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको छ । दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा कोही पनि रहन सक्दैन र ७० वर्षपछि कोही नेतृत्वमा रहन पाउँदैन । पार्टीभित्र निर्माण हुने निरंकुशता र विकृतिलाई रोक्न उनीहरूले यो पद्धतिलाई आत्मसात गरेर सफलता प्राप्त गरेका छन् । जर्ज वासिङटन, मन्डेलाहरू चाहेको भए जीवनभर राष्ट्रपति बन्न सक्थे । तर इतिहासमा उनीहरूको भूमिकालाई कसैले कमजोर मान्दैन । बरु सधंै नेतृत्वमा रहने क्याष्ट्रो, मुगाबेको इतिहास जतिसुकै गौरवपूर्ण भए पनि आज तिनीहरू आदर्श बन्न सकेनन् । नेकपा एमालेका शीर्षनेताहरू जसले पार्टीलाई यो महत्त्वपूर्ण स्थानमा ल्याउनुभयो, त्यसका लागि सबै अभिनन्दनीय छन् । अब नेतृत्व हस्तान्तरणको माध्यमबाट नयाँमा नेतृत्व पुर्‍याउने प्रक्रियाको आरम्भ आफैंले गर्नुपर्छ । दुई कालको भन्दा बढीको लोभले पार्टी जीवन गतिशील हुँदैन । इतिहासले यही पाठ सिकाएको छ ।

पार्टीको लोकतान्त्रीकरणको सवाल नेता, नेतृत्व चुनावमात्र होइन, उनीहरूको आचरण, व्यवहार, संस्कृति कस्तो हुने भन्ने पनि हो । नेतृत्व आफंैमा लोकतान्त्रिक छ कि छैन, उसले के बोल्छ भन्दा के गर्छ भनेर हेरिनुपर्छ । कुनै पनि असल नेतृत्वको परिचय उसको नाम होइन, व्यवहार र लोकतन्त्रप्रतिको निष्ठा हो । विश्व कम्युनिष्ट आन्दोलनको विगतमा जस्तो कुनै अन्तर्राष्ट्रिय केन्द्र छैन, बन्न सम्भव पनि छैन र आजको दुनियाँमा त्यो सान्दर्भिक पनि हुँदैन । यस्तो अवस्थामा संसारका कम्युनिष्टहरूले एकअर्काका अनुभवबाट सिक्ने सम्बन्धित मुलुकका विशिष्टता र मौलिकतालाई सम्मान गर्ने र विविधताबीच एकता खोज्ने प्रक्रियाबाट अघि बढ्नुपर्छ । कम्युनिष्टमात्र होइन, अन्य लोकतान्त्रिक मुलुकहरूबाट पनि केही मात्रामा सिक्नुपर्छ । संसारमा लोकतान्त्रिक बाटोबाट हिँडेका वामपन्थी पार्टीहरूले सफलता प्राप्त गरिरहेको सन्दर्भले माक्र्सबाद र समाजवादको भविष्यप्रतिको विश्वास पुनर्जागृत भएको छ । उग्रवामपन्थी सूत्रवादी बाटो अवलम्बन गरिरहेका समूहहरू सर्वत्र विफल भैरहेका छन् र समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रीकरण, प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर बढिरहेका वामपन्थीहरूले नयाँ सफलता प्राप्त गर्दै गैरहेका छन् । एमाले त्यही मान्यताबाट सफलता प्राप्त गर्दै अगाडि बढेको छ । पार्टीको नवौं महाधिवेशनले गुटगत आग्रहबाट मुक्त भएर एउटा स्वस्थ र लोकतान्त्रिक परिपाटी बसाली नेतृत्व हस्तान्तरणको प्रक्रियालाई बढाउन सक्यो भने लामो समयदेखिको नेतृत्व समूहमा भएको जाम खुलेर पार्टीले गतिशीलता प्राप्त गर्नेछ ।

यो लेख माननीय रविन्द्र अधिकारी ज्यूको वेबसाईटबाट साभार गरिएको हो ।

http://rabindraadhikari.com